दाङ, ८ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा आज पाँचौ दिन चर्चित गायक पशुपति शर्मा आउँदै हुनुहुन्छ । महोत्सवमा गायक शर्मासहित पिताम्बर रिजाल, गायिका शान्ता वली लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सवमा चौथो दिनसम्म हजारौँ टिकट बिक्रि भएको छ । महोत्सवको पाँचौ दिन आज पनि उत्साहजनक सहभागीता रहने महोत्सव मुल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो ।
महोत्सवमा स्थानीय वस्तुको बजारीकरणदेखि स्थानीय कलासंस्कृतिको संरक्षण र प्रवद्र्धन भइरहेको छ । महोत्सवमा जुम्लाको मार्सी चामलदेखि रुकुम पश्चिमको सिस्नो अत्याधिक बिक्रि भइरहेको छ ।
स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन तुलसीपुरमा पुस ४ गतेदेखि प्रथम तुलसीपुर महोत्सव शुरु भएको हो । १९ गतेसम्म संचालन हुने महोत्सवमा दैनिकजसो स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकको ध्यान तानिरहेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । आज पनि महोत्सवमा उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योगम महासंघ तुलसीपुरको आयोजनामा महोत्सव संचालन भइरहेको छ । कृषि, हस्तकला र पशुपालनका स्टललाई निशुल्क उपलब्ध समेत गराइएको आयोजकले जनाएको छ ।
















