दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को समूहबीच आज हुने भनेको निर्णायक वार्ता अनिश्चित भएको छ । गएराति अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको शक्ति बाँडफाँडको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।
हिजोको वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने बताउनुभएकोमा आज वार्ता अघि नबढेको हो ।
बालेन र रविलाई एक ठाउँमा ल्याउने गृहकार्यका लागि मस्यौदा बनाउने जिम्मेवारी रास्वपाबाट शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाहलाई दिइएको थियो । तर, शक्ति बाँडफाँडको विषयमा कुरा नमिलेकाले वार्ता निष्कर्षमा पुगेको छैन ।
यसैबीच ऊर्जामन्त्रीसमेत रहनुभएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टी एकताबारे नागरिकको पनि चाहाना हुनुपर्ने बताउनुभएको छ ।
उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाण्डौ सम्पर्क मञ्चको काठमाण्डौमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले रास्वपातिर सङ्केत गर्दै कुलमानले आफूहरुसँग पार्टीगत संरचना नभए पनि जनताको विश्वास भएको बताउनुभयो । एउटै पार्टी सम्भव नभए सरकारमा मिलेर जानुपर्ने घिसिङको भनाइ छ ।















