२०८२ माघ ७ गते बुधवार

रास्वपा र बालेनबीच ७ बुँदे सम्झौताः बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति

दाङ । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ ।

मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।

सम्झौताको पहिलो बुँदामा नवयुवाहरुले भ्रष्टाचार र कुशाूसन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने सहमति भएको छ ।

यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवम् संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने सहमति भएको छ ।

यसैगरी पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाण्डौ उपत्यकामा रहने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने, बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवम् अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति भएको छ ।

यसैगरी आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवम् परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने सहमति भएको छ ।

यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेट्ने प्रयास भएको थियो । तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाउनुभएको थियो । पार्टीको नाम रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि र प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने भएपछि तीन पक्षबीच सहमति हुन सकेन ।

कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलले तत्काललाई दुई पक्षबीच मात्रै एकता गर्ने सहमति गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस