२०८२ फाल्गुन २९ गते शुक्रवार

राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसदले भोट हाल्न नपाउने


दाङ । राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र ७ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली स्वीकृत भइसकेको छ ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

यस्तै स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा ८ जना स्थानीय तहका पदाधिकारीको नाम पनि मतदाता नामावलीमा समावेश गरिएको छैन ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाले मतदान गर्न पाउने छन् । यो प्रारम्भिक मतदाता नामावलीको तथ्यांक हो ।

यस पटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस