२०८२ फाल्गुन २६ गते मङ्गलवार

नवयुवाका व्यावसायिक योजना : कपडा भाडादेखि वृद्धाको केयरसम्मका नयाँ सोच


दाङ । तुलसीपुर–९ बेलुवा निवासी १७ वर्षीया प्रशंसा केसी अहिले कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । तर, उमेरले सानो भए पनि उहाँसँग एउटा परिपक्व व्यावसायिक योजना छ । हिमाल एकेडेमी तुलसीपुरमा अध्ययनरत केसीसहित तीन जनाको टोलीले शिक्षा र स्वास्थ्यलाई जोडेर एउटा सामाजिक व्यवसायको खाका तयार पारेको छ ।

पछिल्लो समय युवा पुस्ता वैदेशिक रोजगारी वा काममा व्यस्त हुँदा घरमा रहेका वृद्धवृद्धाको हेरचाहमा समस्या देखिन थालेको छ । यही समस्यालाई समाधान गर्न प्रशंसाको टोलीले ‘वल्ड केयर होम’ सञ्चालन गर्ने योजना अघि सारेको हो ।

‘हामीले खोल्न लागेको परम्परागत वृद्धाश्रम होइन’ केसी भन्नुहुन्छ–‘जसलाई व्यस्ताले वा बाध्यताले अभिभावक हेर्ने समय छैन, उहाँहरूका लागि हामीले वल्ड केयर होमको परिकल्पना गरेका हौँ यहाँ स्वास्थ्य जाँच र शिक्षाका साथै वृद्धवृद्धाको रुचि अनुसारको कृषि कर्म (गार्डेनिङ) गर्ने सुविधा समेत हुनेछ ।’

१० देखि १४ लाख रुपैयाँ लागत अनुमान गरिएको यो व्यवसायले करिब १० जनालाई रोजगारी दिने लक्ष्य राखेको टोली सदस्य सुलभ गौतमले बताउनुभयो ।

यस्तै रुकुम पश्चिमका मदन परियारको टोलीले पनि फरक सोच प्रस्तुत गरेको छ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत परियारले ‘एलिजेन्स क्लोथिङ रेन्टल एण्ड ब्युटी पार्लर’ को योजना ल्याउनुभएको छ ।

विशेषगरी विवाह वा पार्टीमा महँगा कपडा किनेर लगाउन नसक्नेहरूका लागि कपडा भाडामा उपलब्ध गराउने र होम डेलिभरीसहित मेकअपको सुविधा दिने उहाँको योजना छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरद्वारा आयोजित ‘प्रथम तुलसीपुर महोत्सव’ अन्तर्गतको नवप्रवर्तन व्यावसायिक योजना प्रतियोगितामा यस्ता १७ वटा समूहले प्रतिस्पर्धा गरेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘युुवाहरूमा व्यवसाय गर्ने तीव्र चाहना छ ।’ उहाँले भन्नुभयो–‘उहाँहरूलाई बिजनेस इन्क्युबेसन सेन्टरमार्फत आवश्यक समन्वय र सहयोग गर्न हामी तयार छौँ ।’

ग्रीन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले १६ देखि ४० वर्षका युवालाई उद्यममा जोड्न प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्न हाम्रो सहयोग निरन्तर रहनेछ’ उहाँले भन्नुभयो ।

त्यस्तै, लक्ष्मी सनराइज बैंक तुलसीपुरका शाखा प्रमुख रञ्जन कोइरालाले युवाहरूका योजना दिगो भएमा बैंकले लगानी गर्न सक्ने बताउनुभयो । आर्थिक अभावकै कारण राम्रा योजना नरोकिउन् भन्नेमा आफुहरुको सोच रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताका संयोजक सुरेश रावतका अनुसार १७ वटा टोलीमध्ये उत्कृष्ट योजना प्रस्तुत गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागीहरूले कृषि, उद्यम, र स्वास्थ्यका क्षेत्रमा नवीन सोचहरू प्रस्तुत गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस