दाङ । दाङ उपत्यकासहित तराई–मधेशका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका क्षेत्रमा हिजो र अस्ति दिउँसोपख एक्कैछिन घाम लागेको थियो । तर हिजो बेलुकापछि फेरी हुस्सुले ढाकेको हो ।
देशभर नै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदलीको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहान/बेलुकाको समयमा तराई क्षेत्रमा हुस्सु तथा कुहिरो दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।














