दाङ, २० पुस ।
दाङको तुलसीपुरमा पुस ४ गतेदेखि संचालन भएको ‘प्रथम तुलसीपुर महोत्सव’ आज सकिएको छ । स्थानीय वस्तुको बजारीकरण र औद्योगिक वातावरण निर्माणका लागि संचालित महोत्सवको आज समापन गरिएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा संचालित ‘प्रथम तुलसीपुर महोत्सव’ आजसम्म गरेर १७ दिनसम्म संचालन भएको हो ।
संयोजक केसीले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, स्थानीय सरकार, सुुरक्षा निकाय, व्यवसायी, पत्रकार लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । महोत्सवको आयव्यय छिट्टै सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
समापन अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला महोत्सवले आर्थिक कारोबारलाई थप चलायमान बनाएको बताउनुभयो । उहाँले महोत्सवले धेरैलाई स्वरोजगारको माध्यमसमेत बनेको बताउनुभयो ।
उहाँले यसपटकको महोत्सवबाट मात्रै तुलसीपुर उपमहानगरपालिकाले ३५ लाख बढी राजश्व संकलन गर्न सफल भएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले महोत्सव सुरक्षितरुपमा सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले महोत्सवमा कुनै अप्रिय घटना हुन नपाएको र महोत्सव सुरक्षितरुपमा अवतरण भएको बताउनुभयो ।
महोत्सवमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको छ । महोत्सवमा युवा व्यवसायी उत्पादनका लागि व्यावसायिक योजना प्रतियोगितादेखि ‘समृद्ध तुलसीपुर, मेरो दायित्व’ विषयमा प्रतियोगिता समेत गरिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।
समापन कार्यक्रममा गायक रोशन रत्गैँया र गायिका बिष्णु सुनारले सांगितिक प्रस्तुति दिनुभयो । कार्यक्रमको सहजीकरण महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले गर्नुभएको हो ।














