दाङ । तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटल प्रालिले संचालन गरेको नर्सिङ कलेजका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । तुलसीपुरको ड्रिम्स बेंक्विटमा शुक्रबार भव्य कार्यक्रम गरी नव आगन्तुक विद्यार्थीको स्वागत गरिएको हो ।
प्रालिका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि अधिकारीले विद्यार्थीको शैक्षिक प्रगतिको कामना गर्दै विद्यार्थीलाई लगनशिल बनेर गन्तव्य हासिल गर्न आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा नीजि क्षेत्रको भूमिका अतुलनिय भएको बताउँदै तुलसीपुर क्षेत्रमा राप्ती लाइफ केयर अस्पताल प्रालिले आवश्यक जनशक्ति उत्पादन गरिरहेकोले आगामी दिनमा जनशक्तिको अभाव नहुने बताउनुभयो । उहाँले अस्पतालले गुणस्तरिय सेवा प्रदान गरिरहेको भन्दै प्रशंशा गर्नुभयो ।
अध्यक्ष हरिप्रसाद रिजालले राप्ती लाइफ केयर अस्पतालबाट उत्पादन भएका जनशक्तिले सेवाभावका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले औषधिको गोलिले भन्दा पनि मिठो बोलीले बिरामीलाई प्रभावित पार्नुपर्ने बताउनुभयो ।
अस्पतालका प्रवन्ध निर्देशक जीवन भण्डारीले नर्सिङ पेशा आत्मसन्तुष्टीको पेशा भएको बताउनुभयो । यस्तै अस्पतालका डाइरेक्टर दोर्ण वली र शिक्षक प्रमोद न्यौपानले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयो ।
वविता परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण एलिसा भण्डारी र जीवन खड्काले गर्नुभएको हो । त्यस अवसरमा विद्यार्थीले नाटक, नृत्यु प्रस्तुत गरेका थिए ।
















