दाङ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन दाङले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । आज आइतबार तुलसीपुर–६ स्थित राप्ती बाल एकेडेमीमा आयोजित कार्यक्रममा दाङका १६ वटा माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको थियो ।
‘सामाजिक सञ्जाल : वरदान कि अभिशाप’ विषयमा आयोजित प्रतियोगितामा तुलसीपुर–४ बनहरीस्थित बाल सहारा बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै राप्ती बाल एकेडेमी तुलसीपुर द्वितीय, मिड वेस्ट पोइन्ट एकेडेमी शान्तिनगर तृतीय र शिखा बोर्डिङ स्कुल तुलसीपुर सान्त्वना भएका छन् ।
नेशनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा एवम् नेशनल प्याब्सनका केन्द्रीय सदस्य नरेश आचार्य र राप्ती–बबई क्याम्पस तुलसीपुरका सहायक प्रधानाध्यापक यशोदा पाण्डेको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा अधिकृत खड्काले विद्यार्थीको बौद्धिक विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पाठ्यपुस्तकको ज्ञानसँगै तार्किक सोच, समसामयिक विषयमा धारणा राख्न यस्ता वादविवाद प्रतियोगिता आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई चार हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वना हुने विद्यालयलाई एक हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य फट्टेबहादुर खड्काले गर्नुभएको हो ।















