दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ४६ दिनमात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिएसंगै चुनावी रौनक बढ्दै गएको छ । दलहरु उमेदवार छनौटमा व्यस्त रहेका छन् भने निर्वाचन आयोगले पनि चुनावीको तयारीलाई तिब्र पारेको छ ।
आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोग सचेत हुनुपर्ने लगायतका सुझाव प्राप्त भएको आयोगले जनाएको छ ।
यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।














