दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको नेपाल प्रहरी स्कूलको खेलकुद मैदानमा माघ ५, ६ र ७ गते शारीरिक परीक्षण सञ्चालन हुनेछ ।
परीक्षा दुई सिफ्टमा हुने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ बजेदेखि १२ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ ।
उम्मेदवारहरूले प्रवेशपत्र र नागरिकता अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ । साथै परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि मैदानमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । तोकिएको समय र मितिमा उपस्थित नहुने उम्मेदवारको दरखास्त स्वतः रद्द हुने डिएसपी शाहले जानकारी दिनुभयो ।
परिक्षामा सहभागि हुने उम्मेदवारहरुले पुरुषको हकमा गेम ड्रेस, पि.टि.जुत्ता र महिलाको हकमा ट्रयाकसुट र पि.टि. जुत्तामा उपस्थित हुनुपर्नेछ । सूचनामा जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट निर्वाचन प्रहरीका लागि आवेदन दर्ता भएका उम्मेदवारहरुको भर्ना छनौट प्रक्रिया माघ ५ गते बिहान ७ बजेदेखि १२ बजेसम्म हुनेछ । यस्तै सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुमा निर्वाचन प्रहरीको लागि आवेदन दर्ता भएका उम्मेदवारको भर्ना छनौट प्रक्रिया माघ ७ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
शारीरिक सहनशीलता परीक्षाअन्तर्गत १८ देखि ३० वर्ष उमेर समूहका उम्मेदवारका लागि १६ सय मिटर दौड, सिटअप र पुसअप समावेश गरिएको छ । पुरुषले १६ सय मिटर दौड १० मिनेटमा र महिलाले १२ मिनेटमा पूरा गर्नुपर्नेछ । सिटअप र पुसअप पुरुषका लागि १० पटक र महिलाका लागि ५ पटक तोकिएको छ ।
३० वर्षभन्दा माथि उमेर समूहका उम्मेदवारलाई प्रत्येक पाँच वर्ष बढी उमेर समूह भएका उम्मेदवारको हकमा २।२ मिनेट समय थप गरिने व्यवस्था गरिएको छ । शारीरिक परीक्षा उत्तीर्ण गर्ने उम्मेदवार मात्र लिखित परीक्षामा सहभागी हुन पाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















