दाङ। दाङका प्रतिष्ठित व्यक्तित्व स्वर्गिय देव बहादुर केसीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको बिहिबार लोकार्पण गरिएको छ । गत वर्ष आजकै दिन निधन भएका केसीको स्मृतिमा प्रकाशित गरिएको स्मृतिग्रन्थको तुलसीपुरमा कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले स्व. केसीको जीवनमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेको हो । स्मृतिग्रन्थको लोकार्पण गर्दै पूर्व सिंचाईमन्त्री दिपक गिरीले उहाँको जीवन पछिल्लो पुस्ता सबैका लागि प्रेरणादायि बनेको बताउनुभयो ।
प्रमुख अतिथिसमेत रहनेका पूर्वमन्त्री गिरीले केसीले सामाजिक तथा राजनीतिकरुपमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभएको छ । विस १९८८ साल चैत २६ गते जन्मीएका केसीको गतवर्ष २०८१ साल माघ ८ गते निधन भएको थियो । उहाँको निधन भएको एक वर्ष पुगेको अवसरमा स्मृतिग्रन्थ प्रकाशित गरी लोकार्पण गरिएको हो ।
तुलसीपुर–७ टिक्रापातु निवासी केसी परिवारले स्मृतिग्रन्थको लोकार्पण गरेको हो । स्मृतिग्रन्थका संरक्षक डिल्लीबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, बालअधिकारकर्मी नवराज लामीछाने लगायतले स्वर्गिय केसीको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभयो । कार्यक्रमको सहजीकरण दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको हो ।














