दाङ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ ॥
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।














