दाङ । दाङको तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कुलले बिहीबार भव्यताका साथ आफ्नो ‘वार्षिक सँंस्कृति कार्यक्रम’ गरेको छ । ज्ञानज्योति एजुकेशन फाउण्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शिक्षा शाखा प्रमुख चक्र भण्डारी र आध्यात्मिक चिन्तक डा. चिन्तामणी योगीले संयुक्त रूपमा शान्तिको प्रतीक जोडी परेवा उडाएर गर्नुभएको हो ।
त्यस अवसरमा विद्यार्थीहरूले नेपालको मौलिक कला र सांस्कृतिक विविधता झल्काउने खालका विभिन्न गीत, नृत्य तथा सिर्जनात्मक प्रस्तुतिहरू दिएका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयमा हुने यस्ता सांस्कृतिक गतिविधिहरू केवल मनोरञ्जनका लागि मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको कुरामा जोड दिएका छन् ।
सांस्कृतिक कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन गराउन, उनीहरूको आत्मविश्वास बढाउन र मञ्चमा उभिएर बोल्ने क्षमताको विकास गर्न मद्दत पुग्ने सिइओ जिसीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले बालबालिकालाई विद्यालयले किताबी ज्ञान दिए पनि घरमा अभिभावकले उचित संस्कार, नैतिकता र अनुशासन सिकाउनु पर्ने बताउनुभयो । यस्तै डा. चिन्तामणी योगीले शिक्षासँगै संस्कारको महत्त्वमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।















