२०८२ फाल्गुन २६ गते मङ्गलवार

बच्चालाई मोबाइल आतंकबाट बचाउनुहोस् : डा. चिन्तामणी नाथ योगी

दाङ । प्रसिद्ध आध्यात्मिक चिन्तक तथा शिक्षाविद् डा. चिन्तामणी नाथ योगीले वर्तमान समयमा बालबालिकाहरू ‘मोबाइल आतंक’को जोखिममा रहेको भन्दै यसप्रति अभिभावकहरू गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

तुलसीपुरमा रहेको मेरीगोल्ड इंग्लीस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै डा. योगीले यस्तो धारणा राख्नुभएको हो ।

डा. योगीले बालबालिकामा देखिएको मोबाइलको लतमा अभिभावक नै बढी जिम्मेवार रहेको तर्क गर्नुभयो । धेरैजसो अभिभावकहरूले बालबालिकाकै अगाडि मोबाइल चलाउने र उनीहरूलाई अल्मल्याउन मोबाइल दिने गर्नाले यो समस्या ‘लत’का रूपमा विकास भएको उहाँको भनाई छ ।

‘यदि बच्चालाई प्रविधिको नराम्रो प्रभावबाट जोगाउने हो भने पहिले अभिभावकले आफ्नो आचरण सुधार्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘बालबालिकाका अगाडी सकेसम्म मोबाइल नचलाऔँ ।’

कार्यक्रममा बोल्दै डा. योगीले बालबालिकालाई आफ्ना बुवाआमाको सेवा गर्ने, पारिवारिक मूल्य–मान्यता बुझ्ने र आफ्नो घर–परिवारभन्दा माथि उठेर समाजका लागि समेत सोच्न सक्ने असल जनशक्तिका रुपमा उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बालबालिकालाई संस्कारयुक्त र सामाजिक उत्तरदायित्व बोध गर्ने नागरिक बनाउनुपर्ने डा. योगीको भनाइछ । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक हरि रिजालले कक्षा कोठाको सिकाईलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गरिखाने शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । वार्षिकोत्सवको अवसरमा पुष्पन हेल्थ केयरले ब्लड प्रेसर, सुगर लगायतका स्वास्थ्य जाँच गरेको थियो । कार्यक्रमको सहजीकरण सोमराज केसीले गर्नुभएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा चर्चित कलाकार बद्री पंगेनीको सांगितिक प्रस्तुति समेत रहेको थियो । यस्तै बालबालिकाले विभिन्न कला संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस