दाङ। विद्यालयको नेतृत्व तहलाई थप कुशल र समयसापेक्ष बनाउने उद्देश्यले दाङको तुलसीपुरमा ‘प्रभावकारी व्यवहारिक नेतृत्व’ कार्यशाला गरिएको छ । नेशनल प्याब्सन दाङको आयोजनामा भएको यस कार्यशालामा जिल्लाका १० वटै स्थानीय तहका सदस्य विद्यालयका प्रिन्सिपल तथा नेतृत्वकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेशनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यशालाको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा प्रमुख अतिथि शर्माले बदलिँदो शैक्षिक वातावरणमा विद्यालयका नेतृत्वकर्ताहरू केवल प्रशासक मात्र नभई एउटा कुशल उत्प्रेरक हुनुपर्नेमा जोड दिनुभयो ।
सिकाई र नेतृत्वमा केन्द्रित प्रशिक्षण कार्यशालाको मुख्य प्रशिक्षण इन्सपायर एजुकेशनका प्रमुख प्रशिक्षक इन्द्र कुमार प्रसाईले गर्नुभएको हो । प्रशिक्षक प्रसाईले बालबालिकाको सिकाइ प्रक्रियालाई कसरी अझ बढी प्रभावकारी र रोचक बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न प्रयोगात्मक विधिहरू प्रस्तुत गर्नुभयो ।
उहाँले विद्यालय व्यवस्थापन, शैक्षिक नेतृत्वले गर्नुपर्ने दैनिक क्रियाकलाप र टिम व्यवस्थापनका बारेमा समेत सहभागीहरूलाई महत्वपूर्ण सूत्रहरू सिकाउनुभएको छ ।
एन प्याब्सन तुलसीपुरका अध्यक्ष लोकेन्द्र बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरिप्रसाद भण्डारीले गर्नुभएको हो । कार्यशालामा सहभागी नेतृत्वकर्ताहरूले यस्ता कार्यक्रमले विद्यालयको आन्तरिक व्यवस्थापन र शैक्षिक नतिजामा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।














