२०८२ फाल्गुन २९ गते शुक्रवार

चिसो नहटेपनि चुनावी सरगर्मी बढ्दै

दाङ । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति आउन आजबाट ३२ दिनमात्रै बाँकी छ । निर्वाचनको नजिकिएसँगै दाङसहित देशभरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन गाउँ–गाउँ र घर–दैलोमा पुगिरहेका छन् । दाङका तीनवटा क्षेत्रमा कुल ६० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

दाङमा प्रतिनिधि सभाका लागि मुख्य दलका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर २ र ३ मा समान २३/२३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् ।

विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू यतिबेला नागरिकको घर–आँगनमा पुग्न व्यस्त छन् । उम्मेदवारहरूले विकास निर्माण, रोजगारी र सुशासनलाई मुख्य मुद्दा बनाएका छन् ।
उम्मेदवारहरू गाउँ छिर्न थालेसँगै मतदाताहरूमा पनि उत्साह देखिएको छ । तर, यसपटक नागरिकहरू पहिलेको जस्तो सजिलै आश्वासनमा बहकिने पक्षमा देखिँदैनन् ।

नागरिकहरूले विगतमा निर्वाचित भएका प्रतिनिधिहरूले गरेका काम, उनीहरूको कार्यशैली र पुरा हुन नसकेका प्रतिबद्धताहरूलाई सुक्ष्म रूपमा केलाइरहेका छन् । नयाँ नेतृत्व चयनका लागि मतदाताहरू एकमत हुँदै गएका छन्, जसले गर्दा पुराना र स्थापित दलहरूलाई यसपटक चुनौती थपिने देखिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा दाङका चोक, चौतारी र चिया पसलहरूमा कुन उम्मेदवार कस्तो भन्ने बहसले निकै चर्चा पाएको छ । उम्मेदवारहरूलाई भोट माग्न चटारो छ भने नागरिकहरू भने सही नेतृत्व छान्न समीक्षामा व्यस्त छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस