दाङ । दाङमा अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन गर्ने सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ १० गतेदेखि १८ गतेसम्म ८ दिनको अवधिमा दाङका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरिरहेका १२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको दाङ प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन गरिरहेको अवस्थामा ती सवारी साधनहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका सवारी साधनहरू सम्बन्धित व्यक्ति/धनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै कुल १ लाख २५ हजार रुपैयाँ जरिवाना गराइएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । साथै ती सवारी साधनहरू सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार रोक्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।















