दाङ । फोर्टिनाइन अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो ३२औँ वार्षिक उत्सव तथा अभिभावक भेला मंगलबार भव्य रूपमा मनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ रमाइलो गाउँमा अवस्थित विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष गेहराज पौडेलको अध्यक्षता तथा नेसनल प्याब्सन दाङका अध्यक्ष निर्मल शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि शर्माले विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। विद्यालयबाट अध्ययन पूरा गरेका थुप्रै विद्यार्थीहरू नेपाल सरकारको उच्च तहमा सेवा प्रवाह गर्न सफल भएको स्मरण गर्दै उहाँले बालबालिकाको भविष्य निर्माण गर्ने शैक्षिक थलोका रूपमा विद्यालयले उल्लेखनीय प्रगति गरेकोमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडा सदस्य गीता राणा, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्का, नेसनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष डम्बर डाँगी तथा अभिभावक डिल्ली डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो।
उत्सवका अवसरमा विद्यालयमा वर्षभरि विभिन्न विधामा उत्कृष्ट तथा खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। साथै ‘४९ स्टार’ कक्षा १० का विद्यार्थी रोहित भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका चेतनामूलक नाटक तथा विविध सांगीतिक प्रस्तुतिहरूले अभिभावकहरु उत्साहित देखिएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बामदेव पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार २०४९ सालमा ४९ जना सञ्चालकहरुबाट स्थापना भएको विद्यालयमा हाल ९ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने विद्यालयले ३८ जनाभन्दा बढीलाई स्वरोजगारसमेत बनाएको जानकारी गराइएको थियो।

संस्थापक प्रधानाध्यापक केशवराज रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय मिनराज डाँगी र माधवा रेग्मीले गर्नुभएको थियो।














