२०८२ फाल्गुन २९ गते शुक्रवार

आचार्यकुलम् दाङको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीमा रहेको आचार्यकुलम् दाङको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिजो एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिक साधारण सभा गरेको हो ।

आचार्यकुलम् दाङका अध्यक्ष दीपक बस्यालको अध्यक्षता तथा साध्वी देव कृपा को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि साध्वी देव कृपाले योग, संस्कार र संस्कृत शिक्षाले मानव जीवनलाई अनुशासित र समाजलाई शुद्ध बनाउने बताउँदै आचार्यकुलम् दाङले आधुनिक शिक्षासँगै वैदिक संस्कारको पुनर्जागरण गरिरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष बस्यालले आचार्यकुलम्‌ले शिक्षा मात्र नभई संस्कार, योग र संस्कृत पढाइ हुने पहिलो विद्यालय भएको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा नयाँ भवन निर्माण गर्ने, विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको संरचना विस्तार गर्ने तथा विद्यार्थीको सहजताका लागि यातायात सेवा थप गर्ने दीर्घकालीन योजना रहेको बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल आधार बनाउँदै अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने, उनीहरूको लालनपोषणदेखि सम्पूर्ण खर्च आचार्यकुलम् दाङले नै व्यहोर्ने ऐतिहासिक निर्णय सभामा सार्वजनिक गर्नुभयो ।

लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहले आचार्यकुलम् दाङको शैक्षिक तथा सामाजिक अभियान अनुकरणीय रहेको बताउनुभयो । योग, शिक्षा र संस्कृत अध्ययनको संयोजनले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको उहाँको भनाई छ । पतञ्जलि योग आजीवन सदस्य समिति नेपालका प्रतिनिधि उत्तम कुमार श्रेष्ठले संस्थाको लक्ष्य प्राप्तिमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक मिलन बुढाथोकी र कोषाध्यक्ष दानबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको पारदर्शिता र सुशासनबारे जानकारी गराउनुभयो । सचिव टेक प्रकाश केसीले २०७९ फागुनदेखि २०८२ माघ ३ महिना ३२ दिन सम्मको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, योग, संस्कृत अध्ययन तथा सामाजिक सेवामा हासिल उपलब्धिहरू सभासमक्ष राख्नुभयो ।

प्रहलाद शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दुर्गाप्रसाद भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस