२०८२ फाल्गुन २९ गते शुक्रवार

सगरमाथामा ‘फुड फेस्टिबल’ : विद्यार्थीलाई श्रमको सम्मान गर्न र उद्यमशील बन्न प्रेरणा

दाङ । तुलसीपुर–९ बेलुवास्थित सगरमाथा बोर्डिङ स्कुलले आइतबार विद्यालय प्राङ्गणमा एक दिने ‘फुड फेस्टिबल’ अर्थात खाद्य मेला सम्पन्न गरेको छ ।

विद्यार्थीहरूको किताबी ज्ञानलाई व्यवहारिक सीप र उद्यमशीलतासँग जोड्ने उद्देश्यले विद्यालयले यस कार्यक्रमको आयोजना गरेको हो ।

मेलामा समुहगत रूपमा स्टलहरू राखेर विद्यार्थीहरूले आफैँले तयार पारेका विभिन्न मौलिक तथा स्थानीय परिकारहरू प्रदर्शनी एवं बिक्री गरेका थिए ।

विद्यार्थीहरूले अर्गानिक खानाका साथै नेपाली जनजीवनमा लोकप्रिय सेलरोटी, पपकर्न, गहुँको रोटी, भाजीको साग र पकौडा जस्ता परिकारहरू तयार पारेका थिए ।

आफ्नै सक्रियतामा परिकार बनाउने, मेनु तयार गर्ने र बिक्री गर्ने कार्यमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउन मेला फलदायी भएको बताउनुभयो । ‘यो फुड फेस्टिबलले विद्यार्थीलाई हाम्रो सांस्कृतिक परिकारहरूको महत्त्व मात्र बुझाएको छैन, उनीहरूमा आर्थिक कारोबार र बजार व्यवस्थापनको आधारभूत ज्ञान समेत विकास गराएको छ ।’ उहाँले भन्नुभयो–‘विद्यार्थीले सिकाईसंगै आम्दानी समेत गरेका छन् ।’

विद्यार्थीहरूले आफैँले मूल्य निर्धारण गरी खाना बिक्री गर्ने अभ्यास गर्दा उनीहरूमा आत्मविश्वास बढेको उहाँले बताउनुभयो ।

पछिल्लो समय विद्यालयहरूले केवल परीक्षा केन्द्रित शिक्षा मात्र नभई ‘लर्निङ बाइ डुइङ’ अर्थात गरेर सिक्ने पद्धतिलाई जोड दिँदै आएका छन् । सगरमाथा बोर्डिङले पनि सोही पद्धति अनुरूप विद्यार्थीलाई श्रमको सम्मान गर्न र उद्यमशील बन्न प्रेरित गर्न यो कार्यक्रम गरेको हो । मेलामा अभिभावक तथा स्थानीयहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक वलीको अध्यक्षता तथा सिइओ यमकान्त खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस