दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ झिंगइका ३९ वर्षीय कमल ओली र रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

आज सोमबार बिहान ९ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु.प्र.०२–००१ प ११०२ नम्बरको मोटरसाइकल पल्टिएको स्थान नजिकै दुई जना व्यक्ति लडिरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको डिएसपी बोहोराले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइँदा चिकित्सकले साढे १० बजेतिर मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














