दाङ। राप्ती राजमार्गको रक्षाचौरदेखि तुलसीपुर हुँदै अमिलियासम्मको सिमाबारेको अन्यौलताबारे दाङको क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवारलाई ध्यानाकर्षण गराइएको छ ।
राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्च, तुलसीपुरले विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले सडक मापदण्डको समस्यालाई गम्भीरतापूर्वक समाधान गर्ने गराउन ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले ध्यानाकर्षण पत्र अध्ययन गर्दा देशका धेरै राजमार्गहरू राज्य व्यवस्थामै अल्झिएको अनुभूति भएको बताउनुभयो ।
उहाँले यस्ता यथार्थपरक र जायज मागहरूलाई सदनमा निरन्तर उठाउने प्रतिबद्धता जनाउनुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ध्यानाकर्षण पत्रप्रति पूर्ण समर्थन जनाउँदै यस विषयलाई फेरि–फेरि दोहोर्याएर उठाउन नपर्ने गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले संघीय संसदमा पुगेपछि ‘दाङ बनाउने अभियान’मा सक्रिय भूमिका खेल्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले वर्षौंदेखि थाँती रहेका समस्याको समाधानका लागि युवाको नेतृत्व आवश्यक भएकाले आफू उम्मेदवार बनेको बताउनुभयो । उहाँले रोकिएका कामलाई निरन्तरता दिने र कर्णाली प्रवेशद्वारका रूपमा रहेको तुलसीपुरलाई सुन्दर र व्यवस्थित सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले राप्ती राजमार्गको अवस्थाका कारण आफू पनि पीडित बनेको उल्लेख गर्दै बजार व्यवस्थापनका लागि सडक फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार कमला जिसीले दिनानुदिन बढ्दो दुर्घटनाको जोखिमप्रति चिन्ता व्यक्त गर्दै सडक स्तरोन्नति अत्यावश्यक भइसकेको बताउनुभयो । उहाँले सरोकारवाला निकाय मौन बसेकोप्रति आपत्ति जनाउँदै सर्वसाधारणको वर्षौंदेखिको जायज माग तत्काल सम्बोधन हुनुपर्ने धारणा राख्नुभयो ।
राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चका संयोजक नवराज लामिछानेले कहिले १५ मिटर त, कहिले २५ मिटर छाड्ने सरकारी निर्णयको विरोधाभासले आफुुहरु अन्यौलमा रहेकोले अब निर्वाचित हुने नेतृत्वले समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सदस्य सचिव चेतन रेग्मीले गर्नुभएको हो ।















