दाङ । दाङका १० वटा पालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका प्रथम भएको छ । यसपटक राप्ती गाउँपालिकाले ७७.४६ अंक ल्याएर जिल्ला प्रथम भएको हो । गत वर्ष पनि राप्तीले जिल्ला प्रथम हुँदै ६७.३ अंक ल्याएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाभरका १० स्थानीय तहमध्ये सबैभन्दा कमजोर राजपुर गाउँपालिका देखिएको छ । कार्यसम्पादन मूल्यांकनमा शान्तिनगर गाउँपालिकाले ६९.८४ अंक प्राप्त गरेर यस वर्ष दोस्रो स्थान हासिल गरेको छ ।
यस वर्ष ६४.१८ अंक ल्याउँदै लमही नगरपालिका तेस्रो भएको छ । बंगलाचुली गाउँपालिकाले ६२.५७ अंक पाएर चौथो भएको छ भने तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष ६१.५३ अंक पाएर पाँचौं भएको छ ।
यस्तै घोराही उपमहानगरपालिकाले यस वर्ष ६१.०८ अंक ल्याएर घोराही छैठौं भएको छ । दंगीशरण गाउँपालिकाले यस वर्ष ६०.९७ पाएर सातौं भएको छ । यसैगरी बबई गाउँपालिकाले यस वर्ष ६०.८६ अंक पाएर आठौं भएको छ ।
यस्तै गढवा गाउँपालिकाले यस वर्ष नवौं भएर ५८.९५ अंक पाएको छ भने राजपुर गाउँपालिकाले यस वर्ष ४९.१७ अंक ल्याएर सबैभन्दा कमजोर भएको छ । वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्वपूर्ण मानिने कार्यसम्पादन मूल्यांकनमा यस वर्ष दाङका १० वटै पालिकाको नतिजा सन्तोषजनक छैन । कतै सुधारिएको छ भने कुनै पालिकाले गतवर्ष भन्दा कम अंक पाएका छन् ।
स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक तथा प्राप्त विवरणको अवस्था हेर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाई आधार मानेको देखिएको छ ।


















