दाङ। दाङको तुलसीपुर–६ गोलौरास्थित डिभाइन टेम्पल एकेडेमीले आज आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
डिभाइन एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत भोजराज न्यौपानेको अध्यक्षता तथा शिक्षा विकास समन्वय एकाइ दाङका प्रमुख देवमनी चौधरीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव उद्घाटन कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि चौधरीले वर्तमान शिक्षा प्रणाली र अभिभावकको भूमिकामाथि विशेष जोड दिनुभयो । उहाँले आजका अभिभावकहरूले छोराछोरीका लागि भौतिक सम्पत्ति जोडिदिने प्रतिस्पर्धा गरिरहेको तर वास्तवमा उनीहरूलाई सम्पत्ति नभई असल संस्कारको खाँचो रहेको बताउनुभयो ।
चौधरीले बालबालिकाको सुनौलो भविष्यका लागि विद्यालयको भूमिका मात्र पर्याप्त नहुने भन्दै अभिभावकले घरमा आफ्ना सन्तानलाई पर्याप्त समय दिनुपर्ने बताउनुभयो ।
छोराछोरीको खुसीका लागि विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा नहुने भन्दै उहाँले बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरूसँग समय बिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले अबको शिक्षा परम्परागत मात्र नभई प्रविधियुक्त र जीवनोपयोगी हुनुपर्ने धारणा राख्नुभयो ।
यसैबिच वार्षिकोत्सवको अवसरमा विद्यालयले आफ्नो शैक्षिक यात्रामा इँटा थप्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । विद्यालयमा लामो समयदेखि कार्यरत उत्कृष्ट शिक्षकहरू सीता केसी र अशोक रेग्मीलाई योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
त्यसैगरी, सूचना र सञ्चारको माध्यमबाट शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी.एमलाई पनि सम्मानपत्र र खादासहित सम्मान गरिएको छ ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्दको विशेष प्रस्तुति रहेको थियो । चन्दका चर्चित गीतहरूमा विद्यार्थी, शिक्षक र अभिभावकहरू झुमेर नाचेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालको मौलिक कला र संस्कृति झल्कने विभिन्न नृत्य तथा झाँकीहरू प्रस्तुत गरेका थिए । त्यसैगरी, विद्यालयका विद्यार्थीहरूले तयार पारेका विभिन्न विज्ञान सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा पत्रकार आशिष केसीले विद्यार्थीहरूको सिर्जनशीलताको प्रशंसा गर्नुभएको हो । कार्यक्रमको सहजीकरण शिक्षकद्वय पूर्ण केसी ‘मूस्कान’ र माधवा शर्मा आचार्यले गर्नुभएको हो ।















