२०८३ जेष्ठ १७ गते आइतवार

निर्वाचनको रौनक बढ्दै : दाङमा ६० जना उमेदवार चुनावी मैदानमा

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा देश चुनावमय बनेको छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त भएसँगै चुनावी रौनक उत्कर्षमा पुगेको छ ।

पुराना स्थापित शक्ति र नयाँ उदाएका दलहरूबीचको प्रतिस्पर्धाले यस पटकको निर्वाचनलाई थप रोचक ढंगले हेरिएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पाटी लगायतका दलहरूले आफ्नो पकड जोगाउन गाउँ–गाउँमा चुनावी अभियान तीव्र पारेका छन् भने नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत राजनीतिक गढ भत्काउने रणनीति बनाइरहेको छ ।

चुनावी अभियानलाई निर्णायक मोड दिन रास्वपाले आगामी फागुन ८ गते दाङको घोराहीमा विशाल चुनावी सभा गर्ने तयारी गरेको छ । जनसभालाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दाङ आउने कार्यक्रम समेत तय भइसकेको छ ।

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय रहेका दुई नेताको आगमनलाई लिएर दाङमा विशेष चासो र उत्साह देखिएको छ । रास्वपाका स्थानीय नेताहरूका अनुसार तयारीलाई तिब्र पारिएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका दलहरूले पनि आफ्नो चुनावी गतिविधि बढाएका छन् ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । तीन पदका लागि क्षेत्र नं. १, २ र ३ मा स्वतन्त्र उम्मेदवारसहित ६० जना उमेदवार चुनावी मैदानमा छन् । दाङमा केन्द्रिय तहका नेताहरूसमेत चुनावी मैदानमा होमिदा निर्वाचनको माहोल थप उत्साहपूर्ण बनेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस