२०८३ बैशाख १३ गते आइतवार

तुलसीपुरमा हिटर सुविधा सहितको अटोमेटिक तेल पेलानी मेसिन जडान


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ बम्नैमा रहेको मालती आयल मिलमा अत्याधुनिक तेलपेलानी मेसिन जडान गरिएको छ । नसुकेको काँचो तोरीसमेत सुकाउन नपरी सिधै पेल्न सकिने मेसिन जडान गरिएको हो । मेसिनको उद्घाटन वडा नंम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले हिजो आइतबार एक कार्यक्रमका बीच गर्नुभएको हो ।

करिब १० लाख रुपैयाँ लागतमा चाइनमबाट आयात गरिएको उक्त मेसिन भित्र्याइएको सञ्चालक हरिबहादुर ओलीले जानकारी दिनुभयो । भन्सार जाँचपास, ढुवानी तथा विद्युत जडान खर्चसहित १० लाख लागत लागेको उहाँको भनाई छ ।

उहाँका अनुसार दाङमा अन्यत्र पनि तेल पेल्ने मेसिन भए तापनि हिटर सुविधा सहितको अटोमेटिक मेसिन भने पहिलो पटक भित्र्याइएको हो । यो मेसिनमा हिटर, फिल्टर तथा पिना तान्ने अटोमेटिक प्रणाली जडान गरिएको छ । हिटरको सुविधाका कारण नसुकेको काँचो तोरीसमेत सुकाउन नपरी सिधै पेल्न सकिने सञ्चालक ओलीले बताउनुभयो । पुरानो मेसिनमा काँचो तोरी हुँदा तेल ननिस्कने समस्या थियो, तर यस मेसिनमा त्यस्तो समस्या नहुने उहाँको भनाई छ ।

नयाँ मेसिनबाट तेलको उत्पादन पनि बढेको बताइएको छ । सामान्य मेसिनमा एक क्विन्टल तोरीबाट करिब ४० लिटर तेल निस्कने भए पनि यस मेसिनबाट ४५ लिटर सम्म तेल उत्पादन हुने सञ्चालक ओलीको दाबी छ । यसले उपभोक्तालाई शुद्ध तेल उपलब्ध गराउनुका साथै काँटी तल थिग्रिने समस्या समेत समाधान गरेको उहाँले बताउनुभयो ।

परम्परागत मेसिनमा जनशक्ति बढी लाग्ने र काममा कठिनाइ हुने भएकाले अत्याधुनिक मेसिन भित्र्याइएको उहाँको भनाइ छ । नयाँ मेसिनमा जनशक्तिको आवश्यकता कम पर्ने, विद्युत खर्च पनि कम लाग्ने तथा उत्पादन क्षमता बढी हुने भएकाले दीर्घकालीन रूपमा लाभदायक हुने वलीले बताउनुभयो ।

सञ्चालक ओलीका अनुसार युट्युब र टिकटकमार्फत जानकारी लिएर अर्डर गरिएको मेसिन विभिन्न प्राविधिक कारणले ढिलो आइपुगेको थियो । अर्डर गरेको करिब नौ महिनापछि मात्र मेसिन तुलसीपुर आइपुगेको उहाँले बताउनुभयो । २०६४ सालदेखि सञ्चालनमा रहेको उक्त मिलमा यसअघि कुटानी, पिसानी सेवा प्रदान गरिनुका साथै लोकल तोरीको तेल पनि बिक्रि हुँदै आएको थियो ।

नयाँ मेसिन जडानसँगै तेल पेलानी सेवा थप प्रभावकारी बनेको छ । उद्घाटनको अवसरमा केही ग्राहकलाई विशेष छुटसमेत प्रदान गरिएको र उपभोक्ताको आकर्षण बढ्दै गएको सञ्चालक ओलीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस