दाङ। आगामी फागुन २१ को निर्वाचन हुन करिब २ सातामात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी गतिविधि तिब्र बनेका छन् । दल तथा स्वतन्त्र उमेदवार मतदाता भेटघाटमा व्यस्त रहेका छन् । निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नका लागि उमेदवारले नागरिकमाझ विभिन्न प्रतिवद्धता गरिरहेका छन् ।
दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका घनश्याम पाण्डेले आगामी निर्वाचनबाट निर्वाचित भएर गएपछि राम्रा पक्षलाई थप बलियो र नराम्रा पक्षको सुधार गरेर जाने परिपाटीको विकास गर्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्वाचनपछि पनि नागरिकका समस्या सुन्ने र समाधान गर्नका लागि आफु निरन्तर नागरिकसंगै रहने बताउनुभयो ।
उहाँले आफुले प्रतिनिधि सभा निर्वाचनमा पहिलोपटक भाग लिन लागेकाले पनि आफु नयाँ उमेदवार भएको दावि गर्नुभएको छ । ‘प्रतिनिधि सभामा म पहिलोपटक उमेदवारी दिएको छ, यसकारण पनि म नयाँ उमेदवार हुँ ।’ उहाँले भन्नुभयो–‘म अनुभवले खारिएको छु, तर म यसअघिका विभिन्न जिम्मेवारीमा दोहोरिएन ।’
पत्रकार भेटघाट कार्यक्रममा उमेदवार पाण्डेले संचार क्षेत्रका समस्या र सांसद भएपछि गर्न सकिने समाधानका बारेमा सुझाव समेत लिनुभएको छ । उहाँले संचार क्षेत्रको समस्या समाधानका लागि आम संचार विधेयक लैजान सकिने समेत बताउनुभयो ।
















