दाङ । दाङको तुलसीपुर–९ स्थित जीवनप्रेमी एजुकेयर एकेडेमीले बुधबार विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी घर्तीको अध्यक्षता तथा तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकाल प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले राज्यको वर्तमान शिक्षा नीति विभेदकारी रहेको टिप्पणी गर्नुभयो । उहाँले यस्तो नीतिका कारण समग्र शिक्षा क्षेत्रको सोचेजस्तो विकास हुन नसकेको बताउँदै नीतिगत सुधारमै जोड दिनुभयो ।
समारोहमा विद्यालयका प्रधानाध्यापक कुबेर केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न विद्यालयले चालेका कदमहरूका बारेमा जानकारी गराउनुभयो ।
त्यस अवसरमा तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्मा, समाजसेवी लालबहादुर वली, विद्यार्थीहरू जीवन धिताल र भावना खरेल लगायतले विद्यालयको प्रगतिको कामना गर्दै आ–आफ्नो मन्तव्य राख्नुभएको हो ।
वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा कलाकार कामना वलीको उत्कृष्ट सांस्कृतिक प्रस्तुति रहेको थियो भने विद्यार्थीले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
शिक्षक मनिराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक मोतिराम भुषाल र शिक्षक मनोज सापकोटाले गर्नुभएको हो ।















