दाङ । तुलसीपुर उपमहानगरपालिका–९, बेलुवास्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार १९ औँ वार्षिकोत्सव मनाएको छ । स्थापनाको १९ वर्ष पुगेको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर र भावी कार्यदिशाबारे चर्चा गर्दै उत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि अधिकारीले शिक्षाले मानिसको ज्ञानको आँखा खोल्ने बताउनुभयो ‘अहिलेको समयमा केवल किताबी ज्ञान मात्र पर्याप्त छैन ।’ उहाँले भन्नुभयो–‘ज्ञान र ध्यानलाई आत्मसात् गर्दै कार्ययोजनामा आधारित शिक्षा लागू गर्न आवश्यक छ ।’
कुलसचिव अधिकारीले बालबालिकाको रुचि र इच्छा अनुसारको वातावरणमा उनीहरूलाई सिक्न दिनुपर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बिजय बिकले सगरमाथा स्कुलले व्यावहारिक शिक्षा प्रदान गर्दै यस क्षेत्रकै अब्बल विद्यालयको रूपमा पहिचान बनाएको बताउनुभयो ।
उहाँले विद्यालयले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको भन्दै निरन्तर प्रगतिको कामना गर्नुभयो । विद्यालयका प्रिन्सिपल छबिकुमार वलीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।
समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य र गायनमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यस्तै गायिका रेखा पोखरेलको सांगितिक प्रस्तुतिमा अभिभावक तथा विद्यार्थी रमेका थिए ।
विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको हो ।















