दाङ। आगामी बिहिबार हुने निर्वाचनका लागि प्रचार–प्रसार गर्न पाइने समय सकिएको छ । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन ।
मौन अवधिमा मत माग्न, पोस्ट गर्न, चुनावलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा चुनावलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था छ ।
चुनावलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । यस अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइने छैन । गएराती १२ बजेबाट मौन अवधि शुरु भएसंगै देश अब निर्वाचनको अन्तिम संघारमा पुगेको छ ।

























