२०८३ जेष्ठ २० गते बुधवार

मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोगमा आयोगको निगरानी

दाङ । बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसार निषेध अर्थात् मौन अवधि सुरु भएको छ ।

मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको हो । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ ।

मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ। कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयनपछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ ।

आयोगले ४ गतेदेखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो।

दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्ने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

निर्वाचन प्रचार अभियानलाई केवल बिजयी हुने साधनका रूपमामात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रुपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उहाँको भनाई छ ।

मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रबद्र्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उनले स्पष्ट पारे। प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनपनि सम्बन्धित दललाई आयोगले निर्देशन दिएको छ। यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारवाही हुने चेतावनी दिएका छन् ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान केन्द्र रहेको स्थान वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे प्रचलित कानूनअनुसार कारबाही गरिने जानकारीसमेत दिए। यस अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश संप्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ ।

साथै, सार्वजनिक भोज भतेर गर्न, नाचगान, जुलुस प्रदर्शन, सभा, समारोह गर्न तथा होहल्ला गर्न पाइने छैन। भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने गरि शान्ति भंग गर्ने कुनैपनि गतिविधि भए संलग्नमाथि कारवाही हुने आयोगले जनाएको छ ।

मौन अवधिमा मतदान केन्द्र निर्माणलगायत अन्य बाँकी व्यवस्थापकीय कार्य गर्ने समय प्राप्त हुने भएकाले आयोगका लागि पनि यो अवधिको महत्व रहन्छ। आयोगले मौन अवधिको आचारसंहिता अक्षरशः पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । साथै, मौन अवधिको समयमा मतदातालाई शान्त भएर आफ्नो निर्णय गर्ने अवसरका रुपमा लिई सहज वातावरण निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस