२०८२ फाल्गुन २६ गते मङ्गलवार

राप्तीमा राष्ट्रव्यापी खुला देवीकोट दर्शन दौड प्रतियोगिता हुने


भालुवाङ । दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला महिला पुरूष देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।

मंगलबार गाउँपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सञ्चालन गरिने छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीकोट मन्दिर परिसरमा राष्ट्रव्यापी खुला देवीकोट दौड प्रतियोगिता आयोजना गर्न लागेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र देवीकोटको प्रचारप्रसार र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने र खेलाडीहरूको शारीरिक, मानसिक तथा संवेगात्मक विकासका गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिका–४ मौरीघाटबाट सुरु हुने करिब ८ किलोमिटरको दौड राप्ती–९ देवीकोट मन्दिर परिसरमा पुगेर सम्पन्न हुने छ। दौड महिला तथा पुरुष दुवैका लागि खुला रहेको छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहभागीहरूलाई क्रमश नगद रु. ५० हजार, ४० हजार र ३० हजार सहित प्रमाण–पत्र प्रदान गरिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

खुला राष्ट्रव्यापी प्रतियोगिता भएकाले देशभरका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता फागुन १८ गते देखि २८ गतेसम्म गर्न सकिने व्यवस्था गरिएको छ। हाल सम्म राष्ट्रिय तथा अन्तरास्ट्रिय गरि करिव १७ जना भन्दा बढी खेलाडीहरूले नाम दर्ता गरिसकेको गाउँपालिकाले जनाएको छ । साथै इच्छुक खेलाडीले गाउँपालिकाको कार्यालयमा उपस्थित भई वा इमेल मार्फत निवेदन पठाएर निःशुल्क नाम दर्ता गराउन सक्नेछन् ।

स्थानीय तह र प्रदेश सरकारको पहलमा देवीकोट क्षेत्रमा मन्दिरको जीर्णोद्धार, पदमार्ग निर्माण तथा पूर्वाधार विकासका काम पनि अघि बढाइएका छन्। स्वर्गद्वारी, अम्बिकेश्वरी मन्दिर र देवीकोटलाई समेटेर धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न सके यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाले प्रतियोगितामा देशभरका खेलाडी तथा सरोकारवालाको सहभागिताका लागि आह्वानसमेत गरेको छ । कार्यक्रमले देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।गाउँपालिकाले प्रतियोगिता मार्फत देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व उजागर हुने विश्वास व्यक्त गर्दै खेलाडी, युवावर्ग तथा सरोकारवाला सबैमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस