दाङ । दाङको तुलसीपुरमा मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा २८ वर्षीय युवक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २८ वर्षीय राजेन्द्र केसी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार केसी आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित घर नजिकै सडक किनारमा दुर्घटनाग्रस्त अवस्थामा मृत फेला परेका हुन् । केसीको टाउकोमा गम्भिर चोट लागेको छ । हेलमेट नलगाएका कारण दुर्घटनामा टाउकोमै बढी चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केसी गएराती अरु दुई जना साथीसंग गाउँमा नाच हेर्न पुगेको थिए । फर्कने बेलामा मोटरसाइकलमा पेट्रोल सकिएपछि संगै गएका साथीहरुले पेट्रोल ल्याइदिएपछि मोटरसाइकल चलाएर घरतर्फ लागेका थिए । तर घर नजिकै छिमेकीको पर्खालको भित्तामा मोटरसाइकल ठोक्किदा घटनास्थलमै केसीको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल छिमेकीको पर्खालमा ठोक्किएपछि गेटमा लाग्दै अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।





















