तुलसीपुर उपमहानगरपालिका-११ कटाहाकी कल्पना केसी डाँगीकोे मृत्यु प्रकरणमा पीडित परिवार र तुलसीपुर उपमहानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । सहमतिअनुसार घटनाको विषयमा दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने भएको छ ।
यस्तै, मृतक कल्पना केसी डाँगीको सम्झनामा १० लाख रुपैयाँ बराबरको प्रतीक्षालय निर्माण गरिने र सम्झौता भएको मितिले एक महिनाभित्र निर्माण प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ ।
त्यसैगरी, सरकारको निति नियम अनुसार आउने बीमा रकम मृतकको घरपरिवारलाई उपलब्ध गराउने सहमति गरिएको छ । मृतकको घरपरिवार र माइती पक्षका १-१ जनालाई स्थानीय तहको प्रचलित कानुनअनुसार एक महिनाभित्र रोजगारी उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ ।
यस्तै, काजक्रिया खर्चबापत मृतक कल्पना केसी डाँगीको घरपरिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । सहमतिपत्रमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, मृतकका घरपक्षबाट सरु डाँगी र माइती पक्षबाट भूपेन्द्र केसीले हस्ताक्षर गर्नुभएको छ ।





















