दाङ,९ चैत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षकको उत्तरदायित्वमाथि देशभर चर्को बहस भइरहेका बेला दाङको तुलसीपुरस्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयले अनुकरणीय निर्णय सार्वजनिक गरेको छ ।
विद्यालय प्रशासनले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सोही विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको हो ।
तुलसीपुर–४ रक्षाचौरमा अवस्थित यस विद्यालयले सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउने परम्परागत प्रवृत्तिलाई चुनौती दिँदै यो नयाँ व्यवस्था गरेको हो ।
विद्यालयका प्रधानाध्यापक बिष्णुकुमारी केसीले सरकारी विद्यालयप्रतिको जनविश्वास अभिवृद्धि गर्न र शिक्षण सिकाई क्रियाकलापमा शिक्षकहरूको प्रत्यक्ष अपनत्व बढाउन विद्यालयले यस्तो निर्णय गरेको बताउनुभयो ।

उहाँले विद्यालयमा अध्यापनरत शिक्षक र कर्मचारीले आगामी शैक्षिक सत्रदेखि आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा गुरुजजुरमै भर्ना गर्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
हाल विद्यालयमा ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयको यो निर्णयले शिक्षकहरूलाई कक्षाकोठाको पठनपाठनप्रति थप जिम्मेवार बनाउने र अभिभावकहरूमा विद्यालयको गुणस्तरप्रति थप विश्वास बढ्ने विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेले बताउनुभयो ।
आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका करिब २५ जना छोराछोरी यसै विद्यालयमा थपिने उहाँले जानकारी दिनुभयो । सामुदायिक विद्यालयले क्रमशः विश्वास गुमाउँदै गएको टिप्पणी भइरहँदा गुरुजजुर नमुना माविले भने १५ जिल्लाका विद्यार्थीहरूलाई आकर्षित गर्न सफल भएको छ ।

हाल २ हजार ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शिशु कक्षादेखि १२ सम्मको पढाइ हुँदै आएको छ ।














