२०८२ चैत्र १२ गते बिहिवार

नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुको शपथ आज


दाङ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा रहेको नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो । बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस