२०८२ चैत्र १४ गते शनिवार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


दाङ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम बालेनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह आज शुक्रबार प्रधानमन्त्री बन्नु भएको हो ।

झापा ५ मा बालेनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गर्नुभएको थियो । एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा–५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै उहाँलाई सो पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । पार्टी सभापति रवि लामिछानेसँग भएको सातबुँदे सहमतिपश्चात् शाहले रास्वपाको तर्फबाट चुनावी अभियान चलाउनुभएको थियो ।

निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेसँगै शाह संसदीय दलको नेता चयन हुनुभएको हो । बहुमत प्राप्त दलको नेताका हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

आजै दिउँसो १२ बजेर ३४ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नुभएको छ । शपथग्रहणलगत्तै उहाँले १५ देखि १८ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस