दाङ । दाङको तुलसीपुरस्थित माद्यमिक विद्यालय तुलसीपुर सेन्टरले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ ‘हाम्रो विद्यालय, राम्रो विद्यालय : शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता मार्फत शैक्षिक गौरवको नयाँ परिचय’ भन्ने मूल नाराका साथ भर्ना अभियान २०८३ सुरु गर्ने भएको छ ।
विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक र कर्मचारीहरूको संयुक्त बैठकले आगामी शैक्षिक सत्रका लागि प्रभावकारी रणनीतिक योजना पारित गर्दै अभियानलाई गौरवका साथ सञ्चालन गर्ने साझा संकल्प गरेको हो ।
विद्यालयले सार्वजनिक गरेको योजनाअनुसार अब शिक्षकहरूको नियमित उपस्थिति र समयमै कक्षा सञ्चालनलाई अनिवार्य गरिएको छ । शिक्षण विधिलाई प्रभावकारी बनाउन प्रत्येक शिक्षकले अनिवार्य रूपमा पाठयोजना तयार गर्नुपर्ने र त्यसको नियमित अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाइएको छ ।
प्रविधिको प्रयोगलाई जोड दिँदै विद्यालयले सबै कक्षामा प्रोजेक्ट–आधारित सिकाइ लागू गर्ने, सिसी क्यामेराबाट निगरानी गर्ने र डिजिटल उपस्थिति प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ ।
सामुदायिक विद्यालयप्रतिको विश्वास जगाउन विद्यालयले शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा विद्यालयमै भर्ना गर्ने नीतिलाई निरन्तरता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावतले जानकारी दिनुभयो ।
विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले विद्यार्थीहरूबीच अनुभव र ज्ञान आदान–प्रदान गर्ने, विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान र प्रोत्साहन गरिने, नेतृत्व विकासका लागि क्लबहरूको गठन गरिने, बिदाका दिनहरूमा अतिरिक्त सिकाइका लागि विभिन्न प्रतियोगिताहरू गर्ने विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो ।
अभिभावकलाई केवल शुल्क तिर्ने माध्यम मात्र नबनाई सह–निर्णयकर्ताको रूपमा स्थापित गर्न वर्षमा चार पटक बैठक आयोजना गरिने , अनुशासन, नैतिकता र जीवन–कौशल शिक्षालाई प्राथमिकता दिँदै पुस्तकालय, प्रयोगशाला र खेलमैदानको व्यवस्थापनमा समेत विशेष ध्यान दिने विद्यालयले जनाएको छ । विद्यालयको अभियानले तुलसीपुर क्षेत्रको शैक्षिक गुणस्तरमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको अध्यक्ष रावतले बताउनुभयो ।















