दाङ । दाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार बढी विद्यार्थीले सहभागीता जनाउने भएको छन् । भोलिदेखि हुन लागेको एसइईमा १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
१० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका छन् । एसइईका लागि जिल्लामा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार नियमित साधारणतर्फ ११ हजार ४३८ जना, प्राविधिक धारतर्फ ३३३ जना, ग्रेडवृद्धि साधारणतर्फ २ हजार १२६ जना र ग्रेडवृद्धि प्राविधिकतर्फ १०१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
कुल सहभागीमध्ये ६ हजार ६१८ जना छात्र र ७ हजार ३८० जना छात्रा रहेका छन् । यसैगरी, सामुदायिक विद्यालयबाट ८ हजार ४४६ जना, संस्थागत विद्यालयबाट ५ हजार ४८८ जना तथा खुलातर्फ ६४ जना विद्यार्थी सहभागी हुनेछन् ।
पाँच जना दृष्टिविहीन विद्यार्थी गुरुजजुर नमुना मावि, रक्षाचौरबाट तथा ११ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थी अश्वारा मावि, तुलसीपुरबाट परीक्षामा सहभागी हुँदैछन् ।
परीक्षाका लागि घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा १३, लमही नगरपालिका र राप्ती गाउँपालिकामा ३–३, दंगीशरण र बबई गाउँपालिकामा २–२ तथा बङ्गलाचुली, शान्तिनगर र राजपुर गाउँपालिकामा १–१ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लामा एसइईमा सहभागी हुने विद्यालयको सङ्ख्या बढे पनि विद्यार्थी सङ्ख्या र परीक्षा केन्द्र भने घटेका छन् । गत वर्षको तुलनामा २५६ जना विद्यार्थी घटेका छन् भने ३ वटा परीक्षा केन्द्र कटौती गरिएको छ । यद्यपि, परीक्षामा सहभागी हुने विद्यालयको सङ्ख्या भने ५ वटा बढेको छ ।















