दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
दाङमा भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार बढी विद्यार्थीले सहभागीता जनाउने भएको छन् । आजदेखि हुन लागेको एसइईमा १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
१० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका छन् । एसइईका लागि दाङमा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार यसवर्ष दाङमा एसइईमा सहभागी हुने विद्यालयको सङ्ख्या बढे पनि विद्यार्थी सङ्ख्या र परीक्षा केन्द्र भने घटेका छन् । गत वर्षको तुलनामा २५६ जना विद्यार्थी घटेका छन् भने ३ वटा परीक्षा केन्द्र कटौती गरिएको छ । यद्यपि, परीक्षामा सहभागी हुने विद्यालयको सङ्ख्या भने ५ वटा बढेको छ ।















