दाङ । तुलसीपुर उपमहानगरपालिकाले ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित ६९औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका सहकारी समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
तुलसीपुर उपमहानगरपालिका सहकारी समितिका संयोजक खुशीराम चौधरीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नेपालको तीनखम्बे अर्थतन्त्रको महत्वपूर्ण आधार सहकारी रहेको बताउनुभयो । उहाँले बचत तथा कृषि सहकारीहरूले समाजको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै अब सहकारीहरू उत्पादनमुखी बन्नुपर्नेमा जोड दिनुभयो । समाजमा देखा परेका विसंगति र विकृति अन्त्य गर्नका लागि उत्पादनको क्षेत्रलाई छनौट गदै सहकारीहरूले उत्पादन क्षेत्र रोजेर उद्याशिलताको काममा लाग्नुपर्नेमा जोड दिनुभयो । यसले गरिबी र विभिन्न समस्याको समाधानमा टेवा पुर्याउने उहाँको भनाई छ ।

उहाँले हाल तुलसीपुरमा १८१ वटा सहकारी संस्था रहे पनि कोपोमिस प्रणालीमा ११७ वटा मात्रै आबद्ध रहेको जानकारी दिनुभयो । बाँकी ६४ वटा सहकारीहरू अझै प्रणालीमा नआएकाले खारेजी प्रक्रियामा रहेको उहाँको भनाइ छ । सबै सहकारीलाई आर्थिक रूपान्तरणमा सक्रिय हुन पनि उहाँले आग्रह गर्नुभयो ।
उपप्रमुख स्यानी चौधरीले सहकारीमार्फत महिलाहरूको नेतृत्व विकास र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

जिल्ला सहकारी संघ दाङका महासचिव तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीमार्फत जीवनस्तर सुधार सम्भव रहेको बताउनुभयो । सहकारी अभियानको तर्फबाट सिङगो समाजलाई माथी उठाउने कुरामा जुन पर्यत्न भइरहेका छन् यसको सबैभन्दा ठुलो ओज रहेको उहाँको भनाई छ ।
उहाँले सहकारी भित्र समस्या,चनौती, अवसर र सम्भावना पनि रहेकाले सहकारीमा भएको समस्य मूल पाटो नभई यसले सकारात्मक उर्जा सिर्जना गर्दै विकासको गति अघि बढाएको बताउनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रिय संघका सचिव चिरन्जीवी केसीले कृषि सहकारीहरूलाई उत्पादन र बजार व्यवस्थापनमा अझ सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला वचत तथा ऋण संघ दाङका संचालक सदस्य जीवन भण्डारीले सदस्यको मनोभाव र आकांक्षालाई सम्बोधन हुने गरी सहकारी क्षेत्रले काम गरेमा सहकारी दिगो हुने बताउनुभयो ।
कार्यक्रममा सहकारी रोजगार प्रवद्र्धन शाखाका प्रमुख ललित बहादुर घर्तीले तुलसीपुर उपमहानगरपालिकाभित्रका सहकारीहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
सहकारी समितिका सदस्य धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखा प्रमुख झरेन्द्र खरेलले गर्नुभएको हो । कार्यक्रममा तुलसीपुरका १९ वटै वडाका सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।














