२०८३ असार २ गते मङ्गलवार

नौ महिनामा लोकसेवा आयोगका आठ वटा परिक्षामा पास गर्ने दाङकी सीता


दाङ । दाङ लमहीकी ३० वर्षीया सीता पोख्रेलले लोकसेवा आयोगअन्तर्गतका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ ।

पोख्ररेलले नेपाल आयल निगम (छैटौँ तह), नेपाल विद्युत प्राधिकरण (प्राविधिक, सातौँ तह), नागरिक उड्डयन प्राधिकरण (प्राविधिक, पाँचौँ तह), खाद्य व्यवस्था तथा व्यापार कम्पनी (सातौँ तह), राष्ट्रिय परीक्षा बोर्ड (छैटौँ तह), त्रिभुवन विश्वविद्यालय सेवा आयोग (छैटौँ तह), गुठी संस्थान (छैटौँ तह) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (छैटौँ तह) मा नाम निकाल्न सफल हुनुभएको हो ।

सीता हाल नेपाल विद्युत प्राधिकरण, रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत रहनुभएको छ । उहाँले कुनै औपचारिक तयारी कक्षा नलिई घरमै बसेर प्रविधिको प्रयोग गर्दै अध्ययन गरेर सफलता हासिल गर्नुभएको हो ।

‘जुनमा भए पनि नाम निस्कियोस् भन्ने लक्ष्य थियो’ उहाँले भन्नुभयो–‘समय व्यवस्थापन गरेर घर, परिवार र बच्चासँगै पढाइ सन्तुलनमा राखेँ, त्यसैले सफलता सम्भव भयो ।’

२०७४ सालमा दाङको देउखुरीमा विवाहपछि थपिएका पारिवारिक जिम्मेवारीबीच पनि उहाँले पढाइलाई निरन्तरता दिनुभएको हो ।

पाँच वर्षे छोराको हेरचाहसँगै बिहान, बेलुका र बच्चा सुतेपछि अध्ययन गर्ने बानीले उनलाई लक्ष्यसम्म पुर्‍याएको हो । सीताको सफलतामा उहाँका श्रीमान् माधवमणि पौडेलको महत्वपूर्ण साथ रहेको छ ।

काठमाडौंस्थित कानुन मन्त्रालयमा कार्यरत पौडेलले निरन्तर प्रेरणा र सहयोग गरेको उहाँले बताउनुभयो ।

प्युठानमै विद्यालय तहको अध्ययन पूरा गरेकी सीताले प्लस–टु पाल्पाबाट, स्नातक दाङबाट र स्नातकोत्तर काठमाडौंबाट पूरा गर्नुभएको छ । विज्ञान विषयमा स्नातकोत्तर गरेकी उहाँले युट्युब र च्याटजिपिटीजस्ता प्रविधिमार्फत अध्ययन सामग्री जुटाएर स्वअध्ययन गरेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस