२०८३ असार २ गते मङ्गलवार

ज्ञानज्योतिमा कक्षा १२ का विद्यार्थीको बिदाई कार्यक्रम

दाङ । तुलसीपुरस्थित ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा संचालित ज्ञानज्योति माध्यमिक विद्यालयले एक भव्य समारोहकाबीच कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ । विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शुक्रबार बिदाइ कार्यक्रम भएको हो ।

कक्षा ११ का विद्यार्थी बर्षाङ्क पोख्रेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मन बहादुर खड्का प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन बहादुर खड्काले बिदाइ भई जान लागेका विद्यार्थीहरूलाई उच्च शिक्षाको सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय तहको शिक्षा पुरा गरेर समाज र राष्ट्र निर्माणको नयाँ खुड्किलोमा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई अनुशासित र लगनशील बन्न आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा आईएसटीका शिक्षाविद् नरेन्द्र बज्राचार्य र आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले पनि विद्यार्थीहरूको शैक्षिक प्रगतिको कामना गर्दै जीवनका चुनौतीहरूलाई शिक्षाको माध्यमबाट सामना गर्न उत्प्रेरित गर्नुभयो ।

बिदाइ कार्यक्रमकै अवसरमा ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिईओ सुरेन्द्र जिसीले आगामी नयाँ शैक्षिक सत्रदेखि भर्ना हुन आउने विपन्न तथा अनाथ बालबालिकाहरूलाई विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘हामीले विगतदेखि नै आर्थिक रूपमा कमजोर र अभिभावकविहीन बालबालिकाहरूलाई पढाउँदै आएका छौँ ।’ सिईओ जिसीले भन्नुभयो–‘सामाजिक उत्तरदायित्व बोध गर्दै आगामी शैक्षिक सत्रमा पनि यस अभियानलाई अझै सशक्त रूपमा निरन्तरता दिनेछौँ ।’

कार्यक्रममा चर्चित लोक गायिका शान्तिश्री परियारले सांगितिक प्रस्तुति दिनुभएको थियो । गायिका परियारले प्रस्तुति दिँदा उपस्थिति विद्यार्थी, शिक्षक र अभिभावक रमाएका थिए ।

कार्यक्रमको सहजीकरण शिक्षकद्वय सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस