तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा स्कुलले शिक्षालाई व्यवहारमा उतार्दै एउटा उदाहरणीय अभ्यास अघि सारेको छ । जहाँ विद्यार्थीहरू आफैं शिक्षक बन्छन् ।
यसको प्रभाव अहिले घरघरमा देखिन थालेको छ । तुलसीपुर–९ बेलुवाका अभिभावक पिताम्बर केसीले विद्यालयले स्कुलमा ग्रुपमा पढ्ने अभ्यास गराएको प्रभाव अहिले घरमा देखिन थालेको बताउनुभयो । नानी बाबुले यसरी पढेको देख्दा आफूलाई निकै खुसी लागेको केसीको भनाई छ । विद्यालयले कक्षा सञ्चालनकै क्रममा विद्यार्थीहरूलाई समूहमा राखेर जान्नेले नजान्नेलाई सिकाउने संस्कार विकास गराउँदै आएको विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले बताउनुभयो ।
यस अभ्यास अन्तर्गत सिनियर विद्यार्थीहरू जुनियरका लागि मार्गदर्शक बन्दै ज्ञान बाँडिरहेका छन् । यसले सिकाइलाई सरल, सहज र प्रभावकारी बनाएको विद्यार्थी अनिषका डांगीको भनाइ छ ।
यसबाट विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य भावनाको विकास भइरहेको छ । अझ महत्वपूर्ण कुरा के छ भने, यो सकारात्मक अभ्यास विद्यालयमै सीमित नरही अहिले फाइनल परीक्षा सकिएर घरमा बसिरहेका विद्यार्थीहरूमा पनि देखिन थालेको छ ।
घरमा बस्दा पनि दाइ–दिदीहरूले आफ्ना साना भाइबहिनीलाई पढाउँदैछन् । जान्ने विद्यार्थीले नजान्नेलाई सिकाउने संस्कार घर–घरमा फैलिँदै गएको छ । यसले सगरमाथा स्कुलको सिकाइ कक्षाकोठामा मात्रै सीमित नभएर जीवनशैली बनेको छ ।
ज्ञान बाँड्दा बढ्छ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै सगरमाथा स्कुलले सिक्दै सिकाउने संस्कृतिलाई विद्यालयबाट घरसम्म पुर्याएको छ ।















