तुलसीपुर, ३ वैशाख । तुलसीपुरमा रहेको हिमाल एकाडेमीले कक्षा १२ का विद्यार्थीलाई लक्षित गर्दै ‘फेरि भेटौला’ कार्यक्रम गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कार्यक्रम गरिएको हो ।
विद्यार्थी अन्जु रेउलेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नगर प्रमुख खड्काले उच्च शिक्षा हासिल गरिसक्दा पनि बजारमा बेरोजगारको संख्या उच्च रहेको बताउनुभयो ।
विद्यार्थीको दक्षता र क्षमतामाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो— ‘एकातर्फ सिपयुक्त जनशक्तिको बजारमा अभाव छ भने अर्कोतर्फ बेरोजगारको चाङ छ ।’ विद्यालय केवल किताबी ज्ञान दिने थलो मात्र नभई सिपयुक्त जनशक्ति उत्पादन गरेर बजारमा पठाउन सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख शालिकराम रेग्मी, चन्द्र केसीलगायत वक्ताहरूले हिमाल एकाडेमीबाट विदा भएर जाने विद्यार्थीहरू भविष्यमा बजारको उच्च माग भएका जनशक्तिका रूपमा स्थापित हुन शुभकामना दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य,कविता तथा गजलहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थी अर्पिता गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक मधुसुदन केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासिनीले गर्नुभएको हो ।















