दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागुऔषध ब्राउन सुगर र चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर र घोराही क्षेत्रमा गरिएको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्क नजिकैबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ बस्ने २९ वर्षीय उद्धव शाहलाई पक्राउ गरेको छ । शंकास्पद रूपमा हिँडिरहेका शाहलाई जाँच गर्दा साथबाट १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
यस्तै तुलसीपुर बसपार्ककै अर्को क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा चरेश बरामद गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा–८ का २८ वर्षीय शुक्र बहादुर कुमाल र जाजरकोटको छेडागाड–१२ का २५ वर्षीय विजय सिंह रहेका छन् ।
उनीहरूको साथबाट हरियो प्लास्टिकको झोलामा लुकाएर राखिएको ८९५ ग्राम चरेश बरामद गरिएको छ ।
यस्तै घोराही उपमहानगरपालिका वडा नं. १८ खर्कट्टी टोलस्थित अनिता रोका मगरको घरमा लागुऔषधको कारोबार भइरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनि अनिता रोका मगर, ३४ वर्षीय नविन कुमार रोका मगर, नयाँबस्ती बस्ने ५० वर्षीय खड्क बहादुर पुन मगर र ४३ वर्षीया कविता घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरीले विभिन्न पुडियामा राखिएको ब्राउन सुगर र पार्किङमा राखिएको लु.प्र.०२–००२ प २३७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त स्थानबाट जम्मा ५६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रवक्ता बोहराका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूलाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । दाङ प्रहरीले पछिल्लो समय लागुऔषधको जालो तोड्न ’सर्च अपरेसन’लाई तीव्र पारेको छ ।














