२०८३ बैशाख १३ गते आइतवार

नागरिकले सुशासनको पूर्ण अनुभूति पाउनुपर्नेमा जोड

दाङ । नागरिक अगुवाहरूले वर्तमान समयमा सामाजिक सद्भाव र सुशासन कायम राख्नु मुख्य चुनौती रहेको औंल्याएका छन् । उनिहरुले नेपाली नागरिकको ठूलो संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त भएको लोकतन्त्र विभिन्न कालखण्डमा पटक–पटक धरापमा परेको स्मरण गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज दाङले २० औं लोकतन्त्र दिवसका अवसरमा शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘सद्भाव प्रवद्र्धन, विधिको शासन र लोकतन्त्रको संरक्षण’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकमा सुशासन स्थापनाका लागि भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट दुई तिहाइको सरकार बने पनि नागरिकले सुशासनको पूर्ण अनुभूति गर्न नपाएको धारणा राखेका हुन् ।

कार्यक्रममा नागरिक समाज दाङका पूर्वअध्यक्ष टीकाराम रेग्मीले २०६२/०६३ को आन्दोलनपछि प्राप्त उपलब्धीहरू पछिल्लो समयमा धरापमा पर्ने हुन् कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा बढ्दै गएको तल्लो स्तरको गालीगलौज र अराजकताले समाजलाई गलत दिशातिर लैजान थालेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका नगर सभापति जीवन भण्डारीले लोकतन्त्रका केही कमजोरी भए पनि यसको विकल्प अरू व्यवस्था हुन नसक्ने भन्दै अब सुधारिएको र परिष्कृत लोकतन्त्र आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले नेपालमा २००७ सालदेखि लोकतन्त्रका लागि संघर्ष सुरु भए पनि २०७२ को संविधानपछि मात्रै यसले मूर्त रूप लिएको चर्चा गर्दै सुशासन बिना लोकतन्त्र पूर्ण नहुनेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी दाङका उपसभापति हरिहर पौडेलले लोकतन्त्रको सबलीकरणले मात्रै समाजमा बहुआयामिक परिवर्तन ल्याउने बताउँदै यस्ता बहसहरूलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पत्रकार दिपक बोहराले सरकारले विभिन्न बहानामा मिडियामाथि अंकुश लगाउन खोजेको भन्दै मिडिया कमजोर हुनु भनेकै लोकतन्त्र संकटमा पर्नु भएको धारणा राख्नुभयो ।

ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्र जोगाउनु सबैको साझा दायित्व भएको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका तुलसीपुर नगर सचिव जीतबहादुर खड्का, मदनप्रकाश हमाल, तुल्सीराम सुनार, देवा डाँगी, मोहन सुनार लगायतले लोकतन्त्र र विधिको शासनका बारेमा आफ्ना धारणा राख्नुभएको हो ।

गणेश भण्डारीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस