दाङ । सामाजिक सञ्जालको गलत प्रयोग र चेतनाको कमीका कारण बालविवाह न्यूनीकरणमा गम्भीर चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्। दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरा सङ्ग्रहालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले पछिल्लो समय सामाजिक सञ्जाल नै बालविवाहको प्रमुख कारक बनिरहेको औँल्याएका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शिवकुमार पौडेलले टिकटक लगायतका सामाजिक सञ्जालमार्फत हुने कुराकानी र सम्बन्धको सुरुआतले बालविवाहको जोखिम बढाएको बताउनुभयो। यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपालीले गरिबी र अशिक्षाका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति रहेको र यसले गर्दा उनीहरूको वृत्तिविकास र रोजगारीमा बाधा पुगेको उल्लेख गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसन्धान अधिकृत लोकराज अवस्थीले तथ्याङ्कमा बालविवाह न्यून देखिए पनि धेरै घटना प्रहरीसम्म नआइपुग्ने अवस्थाप्रति सचेत रहनुपर्ने बताउनुभयो। रुपन्देहीकी प्रहरी निरीक्षक कल्पना घर्तीले बालबालिका हराएको उजुरी आउने र पछि उनीहरूले विवाह गरिसकेको भेटिने गरेको सुनाउँदै यसमा स्थानीय सरकारको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।
‘जस्ट राइट्स फर चिल्ड्रेन’को आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाका प्रहरी अधिकारीहरूको सहभागिता थियो। सहभागीहरूले बालविवाह रोक्न विद्यालय तहको पाठ्यक्रममै यसबारे सचेतना जगाउने विषय समावेश गर्नुपर्ने र समाजको सामूहिक प्रयास आवश्यक रहेको बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बालविवाहका मुद्दा तीन महिनाभित्र दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधानबारे जानकारी दिँदै प्रविधिको दुरुपयोग र गरिबी नै मुख्य अवरोध भएको बताउनुभयो। बार एकाइ तुलसीपुरका अध्यक्ष मधुसुदन गौतमले बालविवाह न्यूनीकरणका कानुनी प्रावधान, ऐन र कार्यान्वयनको अवस्थाबारे स्पष्ट पार्नुभएको थियो।
बेसका संस्थापक महासचिव लोकजन चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशस्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले अभिभावकको निगरानी कम हुँदा बालबालिकाहरू कलिलै उमेरमा यस्ता निर्णयमा पुग्ने गरेको बताउनुभयो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले प्रदेशमा ४५ प्रतिशत बालविवाहको तथ्याङ्क रहेको र त्यसमध्ये १० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेको भयावह अवस्था सार्वजनिक गर्नुभयो। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले छोरीलाई बोझ मान्ने सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो।
बेसका कार्यक्रम निर्देशक पिङ्की डाँगीले प्रदेशमा बालविवाहको अवस्था र संस्थाले गरेका प्रयासबारे जानकारी दिनुभएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराई र सुशील बस्नेतले गर्नुभएको थियो।
















