२०८३ जेष्ठ २७ गते बुधवार

बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन


दाङ । सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको हो । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले suggestions.opmcm.gov.np  नामक डिजिटल प्लेटफर्म सुरु गरेको हो ।

सरकारले आगामी सोमबार सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रमका लागि पनि नागरिकले यसमार्फत सुझाव दिन सक्ने छन्‌ । जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासनव्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउन यो प्लेटफर्म सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आमजनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको मुख्य योजना अनुरूप प्लेटफर्म सञ्चालनमा ल्याएको पनि कार्यालयले उल्लेख गरेको छ । पोर्टलमा प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने पनि कार्यालयले जनाएको छ ।

जनताले पोर्टलमा दिएका आफ्ना सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधासमेत यस प्रणालीमा समावेश रहेको कार्यालयले जानकारी दिएको छ । नागरिकले मन्त्रीपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना रायसुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्ने छन्‌ ।

यस्तै अर्थ मन्त्रालयले पनि बजेटलाई जनमुखी र नतिजामुखी बनाउन वेबसाइट अथवा पत्रमार्फत पनि सबैले सुझाव दिन सक्ने सूचना सार्वजनिक गरेको छ । मन्त्रालयले क्युआर कोड स्क्यान गरेर पनि बजेटमा सुझाव दिन सकिने सुविधा उपलब्ध गराएको छ । नेपालको संविधान, २०७२ अनुसार प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय र खर्चको विवरण अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार सरकारले बजेट लेखनको काम अघि बढाइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस